
नेपाल पत्रकार महासंघ खोटाङ शाखाले जिल्लाका ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ। शाखाको जिल्ला कार्यसमितिको मंगलबार बसेको पूर्ण बैठकले यो निर्णय गरेको हो।
महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यका अनुसार जिल्लामा क्रियाशील पत्रकारहरुलाई पेशामा टिकाइराख्न र सम्मानजनक जीवनयापनका लागि ७० वर्षभन्दा माथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष स्थापना गरिने भएको छ।

पत्रकार पेन्सन कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिइने निर्णय पनि बैठकले गरेको छ। पेन्सन कोषको व्यवस्थापन तथा सञ्चालनको विस्तृत योजना छिट्टै सार्वजनिक गरिने अध्यक्ष आचार्यले जानकारी दिए।
