
हाल देशभर बढ्दो सुक्खा मौसम र असामान्य गर्मीका कारण डढेलो तथा आगलागीका घटनाहरू व्यापक रूपमा देखिन थालेका छन्। विशेष गरी मध्य तथा तराई क्षेत्रमा वनजङ्गलमा लाग्ने डढेलो र शहर क्षेत्रमा हुने अनियन्त्रित आगलागीले वायुप्रदूषणलाई भयावह बनाइरहेको छ।
नेपालको वायुगुणस्तर मापन गर्ने निकायहरूका अनुसार पछिल्लो केही सातायता विभिन्न स्थानमा प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको छ। काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा हावामा धुलो, धुवाँ र अन्य हानिकारक कणहरूको मात्रा उच्च देखिएको छ, जसले स्वासप्रश्वाससम्बन्धी रोगहरूलाई बढावा दिने खतरा निम्त्याएको छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा गर्भवती महिलाहरूका लागि यो प्रदूषण झनै हानिकारक सावित हुनसक्छ।

डढेलो र आगलागीका घटनाहरू नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्न ढिलाइ गरिरहँदा यसको असर केवल पर्यावरणमा सीमित नरही मानव स्वास्थ्यमा गम्भीर रूपमा पर्ने देखिन्छ। स्वच्छ हावा मानिसको आधारभूत स्वास्थ्य अधिकार हो। तथापि, सरकार तथा सम्बन्धित निकायहरूले यसतर्फ आवश्यक ध्यान नदिए वायुजनित रोगहरूको महामारी फैलिने सम्भावना रहन्छ।
यस परिस्थितिबाट जोगिनको लागि दीर्घकालीन समाधान खोज्न आवश्यक छ। डढेलो रोकथामका लागि प्रभावकारी वन व्यवस्थापन, जल स्रोत संरक्षण, समुचित आगलागी नियन्त्रण रणनीति तथा सचेतना अभिवृद्धि आजको अपरिहार्य आवश्यकता बनेको छ। सरकार, स्थानीय तह र समुदाय मिलेर तत्कालै प्रभावकारी कदम चाल्न नसके नेपाल गम्भीर वातावरणीय तथा स्वास्थ्य संकटतर्फ उन्मुख हुनेछ।
