
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजनामा वैशाख १९ र २० गते शिवराज अस्पताल, बहादुरगञ्जमा हृदय तथा मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
“Heart & Kidney – Free Health Camp” नाम दिइएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा मुटु तथा मृगौलासम्बन्धी परामर्श, ईसीजी, इको कार्डियोग्राफी, रक्त परीक्षण तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ। बिरामीहरुको सहजताका लागि निशुल्क बस सेवा पनि उपलब्ध गराइएको छ।
नगरप्रमुख रजत प्रताप शाहले स्वास्थ्य जनताकै समृद्ध नगरको आधार भएको उल्लेख गर्दै यस्ता शिविरहरू ग्रामीण क्षेत्रमा अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। शिविर संयोजक डा. दुर्गालाल गुप्ताले विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीद्वारा सबै सेवा निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो।

शिविरमा “Save The Heart” अभियान, त्रिवि शिक्षण अस्पतालको मृगौला तथा प्रत्यारोपण विभाग, र नेपाल कार्डियो डाइबिटिज एण्ड थाइराइड सेन्टरको प्राविधिक सहयोग रहेको छ। नगरपालिकाले सम्पूर्ण नगरवासीलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरेको छ।
