
कपिलवस्तु । भारतबाट अवैध रूपमा भित्र्याइएको २१८ बोरा युरिया मल कपिलवस्तुमा बरामद गरिएको छ। यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमाक्षेत्रको पश्चिमपट्टि रहेको एक बगैंचामा ती मलहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।
विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले बुधबार बिहान उक्त मल बरामद गरेको हो। टोलीले बगैंचामा झाडीभित्र लुकाइराखिएको मल फेला पारेको सुठौली भन्सारका प्रमुख किरण बिष्टले जानकारी दिनुभयो।
“सूचना अनुसार गस्ती टोली पठाउँदा बगैंचामा छोपेर राखिएको ठूलो परिमाणको भारतीय युरिया मल भेटियो,” प्रमुख बिष्टले भन्नुभयो, “बरामद गरिएको सम्पूर्ण मल अहिले भन्सार कार्यालय ल्याइएको छ र आवश्यक अनुसन्धान अघि बढाइएको छ।”

भन्सार तथा सशस्त्र प्रहरी स्रोतका अनुसार बरामद मल भारततर्फबाट चोरी–पसारी गरी नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थल आसपासका व्यक्तिहरूको खोजी कार्य जारी छ।
हाल बरामद गरिएको २१८ बोरा युरिया मल भन्सार कार्यालयको नियन्त्रणमा राखिएको छ। अनुसन्धानपछि मल कसरी र को माध्यमबाट भित्र्याइएको हो भन्नेबारे थप विवरण सार्वजनिक गरिने भन्सार स्रोतले जनाएको छ।
