
कपिलवस्तु नगरपालिका–६ बर्मेलीमा करिब ३० करोड रुपैयाँभन्दा बढी लागतमा ‘द ग्रेट लभ भिलेज’ निर्माण हुने भएको छ। स्थानीय समुदायमा शिक्षा, स्वास्थ्य तथा सामुदायिक सेवा प्रवाहलाई सहज बनाउन लक्ष्यसहित चुजी चेरेटी फाउन्डेशनले यो परियोजना अघि सारेको हो।
परियोजनाका लागि आवश्यक ५५ कठ्ठा जग्गा चुजी गुठी ट्रस्टमार्फत खरिद भइसकेको फाउन्डेशनका स्वयमसेवक तथा मध्यस्थकर्ता राकेश त्रिपाठीले जानकारी दिए। ट्रस्टका अध्यक्ष चक्र ज्योति शाक्यको नेतृत्वमा जग्गा खरिद र प्रारम्भिक पूर्वाधार योजना पूरा गरिएको छ।
आइतबार चुजी फाउन्डेशनका उपाध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलबीच एमओयू (MoU) समेत हस्ताक्षर भएको छ। सम्झौतापछि अब निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
भिलेजअन्तर्गत ३ महत्वपूर्ण संरचना निर्माण गरिनेछ—

- ४ सय जनासम्म अट्ने ठूलो सामुदायिक केन्द्र
- आधारभूत विद्यालय
- स्वास्थ्य चौकी
यसले शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिलाई एउटै स्थानबाट गुणस्तरीय रूपमा सेवा दिन सहयोग गर्ने फाउन्डेशनको अपेक्षा छ।
यस्तै, बर्मेली आसपास रहेका करिब ५० जना सुुकुम्बासी परिवारको समेत व्यवस्थापन गरी उनीहरूलाई सुरक्षित आवास तथा आधारभूत सुविधासहित पुनःस्थापित गरिने मध्यस्थकर्ता त्रिपाठीले बताए।
मानविय उद्देश्यसहित अगाडि बढाइएको द ग्रेट लभ भिलेज कपिलवस्तुमा सामाजिक विकासका लागि दीर्घकालीन लगानीका रूपमा हेरिएकोछ।
