
जनकपुरधाममा भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रको सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज र जनकपुरधाम अध्याय तथा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्टार्टअप संस्थापक, युवा उद्यमी र एमएसएमई प्रतिनिधि गरी ४० भन्दा बढी सहभागी थिए।
कार्यक्रममा भारतीय महावाणिज्य दूत देवीसहाय मिणाले आर्टिफिसियल इन्टेलिजेन्स, सूचना प्रविधि र आईटी सक्षम सेवामा भारतको अनुभव नेपाली उद्यमीहरूका लागि उपयोगी हुने बताउँदै यस्ता संवादले द्विपक्षीय सहकार्य विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरे।

गोलमेच छलफलले उद्यमीहरूबीच ज्ञान आदान–प्रदान, साझेदारी र लगानीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। यसले मधेस प्रदेशलाई स्टार्टअप हबका रूपमा विकास गर्न समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
