राजनीतिक दल र जेन–जीले सरकारलाई ‘पेन्डुलम’जस्तै बनाएः प्रधानमन्त्री कार्की

0
Quantam abroad studies

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी पुस्ता र राजनीतिक दल दुवैको दबाबले सरकार ‘पेन्डुलम’ जस्तै बनेको गुनासो गरेकी छन्। कहिले “अहिले नै छोड” भन्ने आवाज आउने त कहिले “अहिले होइन, भोलि छोड” भन्ने आग्रह सुनिन थालेपछि सरकारलाई काम गर्न झन् कठिन भएको उनको भनाइ छ।

बाह्रखरी कथाको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पद छोड्ने विषयमा दोहोरो दबाब झेल्नुपरेको बताइन्। “अब छोडौँ भने, मौका दिएकै हो नि, तिमीहरूको औकात यत्ति नै रहेछ भनेर आलोचना हुन्छ,” उनले भनिन्, “सकस गरेर, मिहिनेत गरेर काम गरिरहेका छौँ तर पेन्डुलमजस्तै बनाइयो।”

उनले अहिले २०–३० वटा जेन–जी समूह सक्रिय रहेको र प्रत्येक समूहका फरक–फरक माग रहेको उल्लेख गरिन्। “एउटाले यो गर भन्छ, अर्कोले अर्को गर भन्छ,” उनले भनिन्, “केही युवाबाट त निर्वाचन नै किन चाहियो भन्ने प्रश्नसमेत आएको छ।”

sahani furniture udyog

प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मूल मर्म प्रक्रिया र वैधानिकतामै रहेको भन्दै निर्वाचन अपरिहार्य भएको बताइन्। “संसारको नियम यही हो, कानुन यही हो। वैधानिक प्रक्रिया बिना सरकार चलिरह्यो भने तानाशाही हुन्छ, ‘खान आएका रहेछन्’ भन्ने आरोप लाग्छ,” उनले स्पष्ट पारिन्। यसै क्रममा उनले सञ्चारकर्मी तथा लेखकहरूलाई सरकारका काम–कारबाहीमाथि आलोचनात्मक लेखन गर्न आग्रह गरिन्। “गृहमन्त्रीको के हाल छ, अर्थमन्त्रीको के हाल छ, मेरो के हाल छ—यी सबैबारे कथा लेख्नुस्,” उनले भनिन्।

प्रधानमन्त्रीले मुलुकलाई अस्थिरतामा जान नदिन सरकार सचेत भएर काम गरिरहेको पनि बताइन्। “नेपाल बंगलादेश नहोस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन्, “नेपालीहरूले धेरै दुःख पाए, परिवर्तनको आशामा विदेशिए। फेरि मारकाट र अराजकता भयो भने देशले धान्न सक्दैन।”

उनले संसदमार्फत छानिएर आउने जनप्रतिनिधि इमानदार हुनुपर्नेमा जोड दिँदै वर्तमान शासनशैली सुधार आवश्यक रहेको संकेत गरिन्। “देश चल्नुपर्ने शैली ठीक दिशामा देखिएको छैन,” उनले भनिन्, “अब सुधार नगरी विकल्प छैन।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.