
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आगामी निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार कुल २ हजार ९९३ जना प्रहरी कर्मचारीको नामावली छनोट गरिएको छ भने १ हजार ४१ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षाको जिम्मेवारी सम्हाल्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि यो नतिजा प्रकाशित गरिएको हो । छनोट भएका प्रहरी कर्मचारीहरूलाई मतदानपूर्व तयारी, मतदान प्रक्रिया, मतपेटिका सुरक्षा तथा मतगणनासम्मका सबै चरणमा परिचालन गरिनेछ ।
कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । त्यसअनुसार आवश्यक तालिम, अभिमुखीकरण तथा जिम्मेवारी तोक्ने कार्य क्रमशः अगाडि बढाइनेछ ।

वैकल्पिक सूचीमा रहेका प्रहरी कर्मचारीहरूलाई आवश्यकता अनुसार मुख्य सूचीमा समावेश गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै, नतिजासम्बन्धी थप जानकारी र विवरण जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित आधिकारिक सूचनामार्फत उपलब्ध गराइने उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले निर्वाचन सुरक्षाका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरी काम गर्ने र कुनै पनि किसिमका अवाञ्छित गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहने स्पष्ट पारेको छ ।
