
काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ।
आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भइसकेको हो।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी २५ जिल्लाका मतपत्र छपाइ तथा प्याकिङ कार्य सम्पन्न भइसकेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रयोग हुने १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ।
यसैगरी, समानुपातिक प्रणाली अन्तर्गत प्रयोग हुने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई प्याकिङ, रुजु तथा ढुवानीको तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत आवश्यक दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये बिहीबार बिहान ८ बजेसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ। ती मतपत्रहरू पाँच हजार ८२५ बाकसमा प्याक गरी सुरक्षित राखिएको आयोगले जानकारी दिएको छ।
