
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान जटिल राजनीतिक अवस्थाबाट निकास निकाल्ने सबैभन्दा भरोसायोग्य बाटो निर्वाचन नै भएको स्पष्ट पारेका छन्।
सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले मुलुक निर्वाचनको निर्णायक मोडमा पुगेको बताए। निर्वाचन कसरी अघि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा तीव्र तनाव, बहस र वैकल्पिक प्रस्तावहरू—जस्तै सर्वदलीय सरकार गठन वा संसद पुनःस्थापना—उठे पनि आफ्नो पार्टी सुरुदेखि नै एउटै निष्कर्षमा अडिग रहेको उनको भनाइ थियो।
“आजको जटिल राजनीतिक परिस्थितिमा जनताको बीचमा जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै हो,” उनले भने, “नयाँ जनअनुमोदनसहित गठन हुने प्रतिनिधिसभाले जेनजीसहित आम नागरिकका जायज मागहरू सम्बोधन गर्न सक्छ।”

संयोजक दाहालले अहिले सिंगो देश निर्वाचनमय बनेको उल्लेख गर्दै नेपाली कम्युनिष्ट पार्टीको संगठनात्मक शक्ति दिनप्रतिदिन बलियो बन्दै गएको दाबी गरे। यही गति कायम रहे आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने विश्वास समेत उनले व्यक्त गरे। परिवर्तनकारी शक्तिहरू एक ठाउँमा जुट्नुको विकल्प नरहेको भन्दै पार्टीमा प्रवेश गर्नेहरूको संख्या निरन्तर बढिरहेको उनले बताए।
कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर बिमला ज्ञवाली, अधिवक्ता सबिना वाग्ले लगायत दर्जनौँ व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक दाहालले आगामी राजनीतिक संघर्ष र निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
