
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको सेवा खाता थप दबाबमा परेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुस मसान्तसम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ४.२ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो व्यय १ खर्ब १ अर्ब ३३ करोड रुपैयाँ थियो।
भ्रमण व्ययमध्ये सबैभन्दा ठूलो हिस्सा शिक्षासम्बन्धी खर्चले ओगटेको छ। समीक्षा अवधिमा विदेश अध्ययनका लागि मात्रै ६७ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५६ अर्ब ७७ करोड रुपैयाँको तुलनामा १० अर्ब ७० करोड बढी हो। यसले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको विदेश मोह अझै घट्न नसकेको संकेत गर्छ।
तर भ्रमण आय भने अपेक्षित रूपमा बढ्न सकेको छैन। छ महिनामा यस्तो आय सामान्य ०.८ प्रतिशतले बढेर ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा ४१ अर्ब ८८ करोड रुपैयाँ थियो। व्यय तीव्र गतिमा बढ्दा र आय सुस्त रहँदा खुद सेवा आय ४१ अर्ब ५५ करोड रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो घाटा २९ अर्ब ४७ करोड रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार शिक्षाका नाममा ठूलो परिमाणमा रकम बाहिरिँदा विदेशी विनिमय सञ्चितिमा दबाब पर्छ। देशभित्रै गुणस्तरीय उच्च शिक्षा र रोजगारीका अवसर विस्तार नगरेसम्म यस्तो बहिर्गमन रोकिने सम्भावना कम देखिन्छ।

यसबीच विनिमय दरको उतारचढावले पनि खर्चको आकार बढाएको छ। असार मसान्तको तुलनामा पुस मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.९ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्ष यही अवधिमा अवमूल्यन २.८ प्रतिशत मात्रै थियो। पुस मसान्तमा अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ पुगेको छ, जुन असार मसान्तमा १३७ रुपैयाँ थियो। रुपैयाँ कमजोर हुँदा विदेशमा गरिएको खर्चको मूल्यांकन झन् उच्च देखिएको हो।
अर्कोतर्फ, नेपालीको विदेश घुमफिर खर्च भने घटेको देखिन्छ। गत वर्ष यही अवधिमा करिब ४५ अर्ब रुपैयाँ खर्च भएकोमा यस वर्ष ३८ अर्ब रुपैयाँ हाराहारीमा सीमित रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसले शिक्षाबाहेक अन्य भ्रमण खर्च केही संयमित भएको देखाउँछ।
उता, पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ थियो।
पर्यटन क्षेत्रबाट अपेक्षित विदेशी मुद्रा आर्जन हुन नसकेको र शिक्षा शीर्षकमा बाहिरिने रकम उच्च रहँदा सेवा खाताको घाटा आगामी महिनामा समेत चुनौतीपूर्ण रहने संकेत देखिएको छ।
