
कपिलवस्तु । तौलिहवा स्थित आनन्दबाग क्षेत्रको एक किराना पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेपछि स्थानीय बजार क्षेत्रमा सतर्कता बढाइएको छ।
स्थानीय व्यापारीका अनुसार एक व्यक्ति सामान खरिद गरी भुक्तानीका क्रममा १ हजार रुपैयाँको नोट दिएका थिए। नियमित हिसाब मिलाउने क्रममा नोट शंकास्पद देखिएपछि जाँच गर्दा उक्त नोट नक्कली भएको पुष्टि भएको हो। सामान लिएर ती व्यक्ति भने त्यतिबेलासम्म पसलबाट बाहिरिसकेका थिए।
घटनापछि व्यापारीहरूले आसपासका पसलधनी र सर्वसाधारणलाई सचेत गराउँदै ठूला दरका नोट लिँदा विशेष ध्यान दिन आग्रह गरेका छन्। “नोटको जलचिन्ह, सुरक्षात्मक धागो, उभिएको छपाइ र सिरियल नम्बर जाँच गर्नुपर्छ,” एक स्थानीय व्यापारीले भने, “सानो लापरबाहीले ठूलो क्षति हुन सक्छ।”

तौलिहवा बजार क्षेत्रमा नक्कली नोटको कारोबार हुनसक्ने आशंका बढेपछि व्यापारीहरूले प्रहरी प्रशासनलाई निगरानी कडा बनाउन आग्रह गरेका छन्। उनीहरूले शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन्।
प्रहरीले भने घटनाबारे जानकारी आएको र आवश्यक अनुसन्धान तथा बजार अनुगमनलाई प्राथमिकता दिइने जनाएको छ। बजारमा आर्थिक गतिविधि तीव्र भइरहेका बेला यस्ता घटनाले व्यापारी तथा उपभोक्तामा त्रास सिर्जना गर्न सक्ने भन्दै सतर्कता नै उत्तम उपाय भएको स्थानीयको भनाइ छ।
