
भुपाल थापा, भदौ २५
भारत जाने क्रममा जोखिममा परेका नागरिकको उद्धार र परामर्शमा कपिलवस्तुको कृष्णनगर नाकामा सक्रियता बढाइएको छ । एक वर्षको अवधिमा जोखिममा परेका १३३ जनाको उद्धार गरिएको छ भने करिब ५ हजार जनालाई परामर्श सेवा दिइएको छ । आर्थिक वर्ष २०८२/ ०८३ मा आफन्त नेपाल कपिलवस्तु शाखाले कृष्णनगर नाका हुँदै आवतजावत गर्ने नागरिकलाई मानव बेचबिखन तथा ओसारपसार र सुरक्षित यात्राबारे सचेत गराउँदै जोखिममा परेकाको उद्धार तथा परामर्शलाई प्राथमिकता दिएको हो ।
आफन्त नेपाल कपिलवस्तुकी संयोजक माधुरी लिम्बुका अनुसार सो अवधिमा ४ हजार ९ सय २७ जनाले परामर्श सेवा लिएका छन् । भारत जाने क्रममा शंकास्पद अवस्था देखिएका, समस्यामा परेका तथा जोखिममा रहेका नागरिकलाई आवश्यक परामर्श दिइएको उहाँले बताउनुभयो । यस्तै, तत्काल आश्रय आवश्यक भएका ८६ जनालाई आकस्मिक आवास गृह सेवा उपलब्ध गराइएको छ । उद्धार गरिएका तथा सम्पर्कविहीन भएका व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराउने कामलाई समेत शाखाले निरन्तरता दिएको छ । एक वर्षमा ११४ जनाको पारिवारिक पुनर्मिलन गराइएको संयोजक लिम्बुले जानकारी दिनुभयो ।

शाखाले जोखिममा रहेका तथा सीप विकासको आवश्यकता भएका १९ जनालाई सीपमूलक तालिम समेत प्रदान गरेको छ । प्रहरीको सहयोगमा १११ वटा घटना व्यवस्थापन गरिएको शाखाले जनाएको छ । कृष्णनगर नाका भारतसँग जोडिएको प्रमुख आवागमन नाका भएकाले रोजगारी तथा अन्य उद्देश्यले भारत जाने नागरिक मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै शाखाले नाकामै सूचना, परामर्श र निगरानीलाई प्राथमिकता दिएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा नाका हुँदै आवतजावत गर्ने १३ हजार ८ सय ४२ जनालाई मानव बेचबिखन तथा ओसारपसार र सुरक्षित आवतजावतबारे सूचना समेत प्रदान गरिएको शाखाले जनाएको छ ।

