
सञ्जय मिश्रा
रौतहट, कात्तिक १२
भारतको बिहारस्थित मोतिहारी जिल्ला अदालत परिसरबाट चर्चित जिल्ला पार्षद सुरेश यादव हत्या प्रकरणका मुख्य आरोपी फरार भएका छन्। बुधबार अदालतमा पेस गरी फर्काउने क्रममा प्रहरीको सुरक्षा घेरा तोड्दै हरिशंकर पासवान फरार भएपछि प्रहरी प्रशासनमा खैलाबैला मच्चिएको छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार, अतिरिक्त जिल्ला एवं सत्र न्यायाधीश (एडीजे–५) को अदालतमा पेस गरेपछि फर्काउने क्रममा पासवानले प्रहरीलाई छल्दै हतकडीबाट हात निकालेर फरार भएका हुन्। अदालत परिसरमा मानिसहरूको भीडभाडको फाइदा उठाउँदै उनी भागेको बताइएको छ।

सुगौली क्षेत्रको मधुमालत निवासी पासवान बन्जरियाका जिल्ला पार्षद सुरेश यादवको हत्याका मुख्य आरोपी हुन्। २६ जुन २०२४ मा चाँदमारी चोकमा यादवको दिनदहाडै हत्या भएको थियो। उक्त घटनामा पासवानमाथि मुख्य आरोपीका रूपमा अभियोग लागेको छ।
घटनापछि अदालतबाट कैदी फरार हुनुमा प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। कडा निगरानी रहने न्यायालय परिसरबाट हत्या अभियोगका मुख्य आरोपी फरार हुनुले कैदी सुरक्षामा भएको कमजोरीलाई उजागर गरेको छ।
कारागार अधीक्षकका अनुसार प्रहरी जवान निरञ्जन कुमारको जाहेरीका आधारमा नगर थानामा घटनासम्बन्धी प्राथमिकी (एफआईआर) दर्ता गरिएको छ। फरार कैदीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरी जिल्लाका विभिन्न स्थानमा व्यापक छापा मार्ने काम भइरहेको जनाइएको छ।
कडा सुरक्षाबीच कैदी कसरी फरार भए ?
अदालतमा पेस गरिएका कैदीलाई सुरक्षित रूपमा कारागार फर्काउने जिम्मेवारी प्रहरीको हुन्छ। तर, हत्या प्रकरणका मुख्य आरोपी नै अदालत परिसरबाट फरार भएपछि सुरक्षामा खटिएका प्रहरीको कार्यक्षमता र निगरानी प्रणालीमाथि प्रश्न उठेको छ।
