
भुपाल थापा, कपिलवस्तु ।
लैङ्गिक हिंसाका घटनामा पीडितलाई प्रभावकारी कानुनी सहायता उपलब्ध गराउने तथा आवश्यक सेवाका लागि सम्बन्धित निकायमा प्रेषण गर्ने प्रणालीलाई थप सुदृढ बनाउने विषयमा कपिलवस्तुमा सरोकारवालाबीच छलफल भएको छ । कानुनी सहायता प्रदायक तथा प्रमुख सरोकारवालाको सहभागितामा लैङ्गिक हिंसा सम्बन्धी घटनाको सुदृढीकरण तथा प्रेषणसम्बन्धी बैठक आयोजना गरिएको हो ।
बैठकमा लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडितले समयमै कानुनी सहायता र आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । साथी संस्था कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा लैङ्गिक हिंसाका घटना भएमा पीडितलाई आवश्यक कानुनी परामर्श, संरक्षण तथा अन्य सहयोगका लागि सम्बन्धित सेवा प्रदायक निकायसम्म सुरक्षित र प्रभावकारी रूपमा पुर्याउन प्रेषण प्रणाली महत्वपूर्ण हुने भएकाले त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको हो ।
त्यस्तै, हिंसामा परेका व्यक्तिले न्यायका लागि अघि बढ्दा आवश्यक कानुनी प्रक्रिया, उपलब्ध सेवा तथा सहयोगबारे सहज रूपमा जानकारी पाउने अवस्था बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ । लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तह, कानुनी सहायता प्रदायक, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सामाजिक क्षेत्रमा कार्यरत संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाको भनाइ छ । कोइका, प्लान इन्टरनेसनल र यूएनएफपीए लगायतको सहयोगमा आयोजित बैठक आज कपिलवस्तु तौलिहवा स्थित स्वागत होटलमा भएको हो । पीडितलाई न्यायको पहुँचमा पुर्याउन घटना दर्तादेखि कानुनी उपचार र आवश्यक सेवासम्मको प्रक्रियालाई पीडितमैत्री र प्रभावकारी बनाउन यस्ता छलफलले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


साथी संस्था संचालक समितीका सदस्य प्रकाश गैरेको अध्यक्षता, जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, जिल्ला न्यायधिवक्ता कृष्णचन्द्र पाण्डे, कपिलवस्तु नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठ, गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डे, प्रहरी निरीक्षक दिपक कुँवर, अधिवक्ता शम्भु शैनी, दलित सामाजिक बिकास केन्द्रका बिन्धबासिनी हरिजन, युएनएफपिएका केश मल्ल, प्लान इन्टरनेशनलका सनिल कोइराला, हुरेक नेपालका मनिषा शाही त्रिपाठी, पत्रकार भुपाल थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिपक कुँवर, जिल्ला न्यायधिवक्ता कृष्णनाथ पाण्डे, साथी संस्थाका संयोजक बिमला घिमिरेले लैङ्गिक हिंसाका घटना कतिपय अवस्थामा परिवार तथा सामाजिक दबाबका कारण बाहिर आउन नसक्ने भएकाले पीडितमैत्री सेवा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभएको छ । पीडितले आफ्नो समस्या राख्दा गोपनीयता, सुरक्षा र सम्मान कायम हुने वातावरण बनाउन सम्बन्धित सेवा प्रदायकहरू जिम्मेवार बन्नुपर्नेमा पनि उहाँहरुले जोड दिनुभएको छ ।
