संविधान संशोधन अहिलेको मुख्य आवश्यकता हो : उपेन्द्र यादव

0
Quantam abroad studies

भुपाल थापा, भदौ २३, कपिलवस्तु ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन देशको अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । जसपा नेपाल जिल्ला कार्यसमिति, कपिलवस्तुले मंगलबार तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बिगतमा जर्बजस्ती बन्दुकको नालको भरमा संविधान घोषणा गरिएको प्रति असन्तुष्टि प्रकट गर्दै संविधानमा केही पक्षहरु राम्रा रहेता पनि निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्यायपालिकामा सुधार हुनुपर्ने धारणा राखे । 

जनताको अधिकार, सहभागितालाइ थप बृद्धि गर्नुपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई निर्धारण गरिनु अपरिहार्य रहेको तर्क समेत यादवको छ । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र र दलालीको तरिका बदलिएको तर, यसमा पहिला भन्दा कमी भने नआएको जिकिर गरे । उनले रास्वपा सरकारमा आएयता भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् । ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा बनाइयो । रास्वपाले बहुमत पायो,’ अध्यक्ष यादवले भने, ‘तर, बहुमत पाइसकेपछि विकास र सुशासन हरायो ।’ जनताले अहिले पनि सुशासन नपाएको उनले टिप्पणी गरे । जे मा पनि कर बढेको भन्दै उनले गरीब जनतामाथि कर थप्नु अन्याय भएको बताए । समसानघाट देखि किसानी सम्म कर थोपरेर बर्तमान सरकारले जनतालाई आजित बनाएको उनको आरोप छ । 

अर्को प्रसंगमा, विगत ३४ वर्षमा ३० पटक सरकार बदलिएको र सरकार बनाउने, गिराउने तथा पार्टी बनाउने र तोड्ने काम भएको उनको भनाइ छ । यसबाट जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको उनले बताए । मुलुक अपेक्षाकृत विकासको गतिमा अगाडि बढ्न नसकेको समेत उनको भनाइ छ ।

सम्बोधनको शुरुमै उनले विकसित र शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको ठूलो जोखिममा परेको बताए । विकसित मुलुकहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइड र हरितगृह ग्यासका कारण हिमनदी पग्लिने दर बढेको र वातावरणीय सन्तुलन बिग्रिएको उनले बताए ।

sahani furniture udyog

उनले आफ्नो पार्टी अनुशासन र सिद्धान्त अनुरुप चल्ने पार्टी भएको दाबी गर्दै पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने र सरकारमा सहभागी भएपछि पार्टी भित्रै अनुशासनहिन र पार्टी बिपरित गतिबिधी गर्नेलाई कारवाही समेत गरेको बताए । उनले भने, ‘त्यसको आत्मसमीक्षा गरी लुम्बिनी प्रदेश सांसदसहित २१ जनालाई कारबाही गरिएको हो ।’ अध्यक्ष यादवले पार्टीको अनुशासन र निर्णयविपरीत काम गर्ने जोसुकैलाई पनि कारवाही गरिने बताए ।

त्यस्तै पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पार्टी जनताको बीचमा रहेको बताए । ‘जसपा नेपाल अहिले प्रतिनिधि सभामा नभए पनि सडकमा छ । सदन र सरकार तपाईँको होला, अहिले हाम्रो सडक छ’, उनले भने ।

कार्यक्रममा जसपा नेपाल केन्द्रिय कार्यकारिणी सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, जसपा नेपालको केन्द्रीय सदस्य सुदीप पौडेल, अब्दुल रसिद खाँ, साधिका यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, दाङ जिल्ला अध्यक्ष भरतलाल चौधरी, जिल्लाका बिभिन्न पालिकाका अध्यक्षहरु, वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको जसपा नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.