
इरानले अमेरिकी–इजरायली संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको औपचारिक पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसी ले खामेनीको मृत्युको समाचार प्रसारण गरेको हो। आक्रमणमा खामेनीका छोरी, ज्वाइँ, नातिनातिना र एक बुहारीसमेत ज्यान गएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। देशभर ४० दिन शोक मनाउने घोषणा गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत खामेनी मारिएको दाबी गर्नुभएको थियो। उहाँले यसलाई “न्याय” भएको उल्लेख गर्दै इरानमाथिको बमबारी जारी रहने चेतावनी दिनुभएको छ। साथै इरानी नागरिकका लागि देश फिर्ता लिने यो ठूलो अवसर भएको र धेरै इरानी सैनिकहरू युद्ध लड्न इच्छुक नभएको दाबीसमेत गर्नुभएको छ।
जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रत्याक्रमण गरेको जनाएको छ। यूएई, कतारको दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरिएको खबर सार्वजनिक भएको छ। इरानमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको इरानी रेड क्रिसेन्टले जनाएको छ भने एक बालिका विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

तनाव चुलिँदै जाँदा इजरायल सरकारले सार्वजनिक स्थानमा भेला नहुन र विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। इजरायलमा गैरसैनिक उडानहरू पूर्णरूपमा बन्द गरिएका छन्। आठ महिनाअघि पनि इजरायल र इरानबीच १२ दिनसम्म भीषण युद्ध भएको थियो।
मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् भने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन्। बढ्दो तनावबीच अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेको छ।
