
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना अन्तर्गत श्री नारायणदल गणले जिल्लाभर व्यापक गस्ती सुरु गरेको जनाएको छ।
पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेना विभिन्न स्थानमा परिचालित छ। अत्याधुनिक सैनिक सवारी साधनसहित मतदान केन्द्र र आसपासका क्षेत्रमा विशेष निगरानी बढाइएको छ। सम्भावित जोखिम नियन्त्रण गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च पारिएको सेनाको भनाइ छ।
श्री नारायणदल गणको टोली जिल्लाका सबै १७ वटै स्थानीय तहमा तैनाथ छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको जनाइएको छ।

जिल्लामा १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले जानकारी दिएका छन्। उनले शान्तिपूर्ण वातावरण सुनिश्चित गरिएको उल्लेख गर्दै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
