
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ले अमेरिकी सैन्य अड्डा र इजरायल लक्षित गर्दै अहिलेसम्मकै “सबैभन्दा खतरनाक आक्रमण” सुरु गर्ने चेतावनी दिएको छ। इरानको सरकारी समाचार संस्था फार्स समाचार एजेन्सी का अनुसार, इरानी सेनाले विज्ञप्ति जारी गर्दै चाँडै निर्णायक कारबाही थालिने घोषणा गरेको हो।
विज्ञप्तिमा “इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाको इतिहासमै सबैभन्दा खतरनाक आक्रमण कब्जा गरिएका क्षेत्रहरू र अमेरिकी अड्डाहरूविरुद्ध केही क्षणमै सुरु हुनेछ” भन्ने उल्लेख गरिएको छ। इरानले अमेरिकी अड्डालाई “आतंकवादी अड्डा” को संज्ञा दिएको छ।

यो चेतावनी त्यस्तो समयमा आएको हो, जब इरानको सरकारी सञ्चारमाध्यमले सर्वोच्च नेता अयातुल्लाह अली खामेनी को मृत्यु घोषणा गरेको थियो। सरकारी टेलिभिजनका प्रस्तोताले खामेनीको निधन पुष्टि गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन्।
खामेनीको मृत्युको घोषणापछि क्षेत्रीय तनाव चर्किँदै गएको छ भने इरानले प्रतिकारात्मक कदम चाल्ने संकेत दिएको छ। मध्यपूर्वमा सुरक्षा सतर्कता बढाइएको छ र अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गरिरहेको छ।
