स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा, आकस्मिक सेवा भने २४ घण्टा सुचारु

0
Quantam abroad studies

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब स्वास्थ्य संस्थाहरूमा पनि हप्तामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था बारे जानकारी गराएको हो।

मन्त्रालयका अनुसार अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने पहिलेझैँ २४ सै घण्टा निरन्तर सञ्चालनमा रहनेछ। बिरामीको उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यी सेवा निरन्तर उपलब्ध रहने जनाइएको छ।

विज्ञप्तिमा मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार दुई दिन सार्वजनिक बिदा लागू गरिएको उल्लेख गर्दै स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राखिएको बताइएको छ। साथै, आइतबारका लागि तय गरिएका शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजता अनुसार पुनः तालिका (रिसेड्युल) गरिनेछ।

sahani furniture udyog

मन्त्रालयले बिदाका दिनमा पनि बिरामीले कुनै असुविधा भोग्न नपरोस् भनेर अस्पतालहरूलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। उपलब्ध नभएका सेवाका लागि नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने, एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्ने र सेवा सम्बन्धी जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

साथै, ‘अस्पताल सुधार कार्यविधि २०८२’ को पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणपछि स्वास्थ्य सेवामा थप सुधार र परिमार्जन गरिने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।

यसअघि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य संस्थामा शनिबार मात्र बिदा दिने व्यवस्था गरिएको थियो। अहिले भने सो व्यवस्था परिमार्जन गर्दै शनिबार र आइतबार दुवै दिन बिदा लागू गरिएको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.