
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक क्यानले पहिलोपटक ‘ए प्लस’ क्याटगोरी थप्दै राष्ट्रिय टोलीका प्रमुख खेलाडीलाई उच्च प्राथमिकतामा राखेको छ ।
पुरुषतर्फ कप्तान रोहित पौडेल, स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेगस्पिनर सन्दीप लामिछाने मात्रै ‘ए प्लस’ क्याटगोरीमा परेका छन् । यो समूहका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
‘ए’ क्याटगोरीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुँदा ‘बी’ मा ललित राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् ।
यस्तै ‘सी’ क्याटगोरीमा अनुभवी र युवा खेलाडीको मिश्रण देखिएको छ । सन्दीप जोरा, कुशल मल्ल, अर्जुन कुमाल, ईशान पाण्डे, शाहब आलमसहित ११ खेलाडी उक्त सूचीमा अटाएका छन् ।
डेभलप्मेन्ट समूह अर्थात् ‘डी’ क्याटगोरीमा भने भविष्यका सम्भावित प्रतिभालाई समेटिएको छ । देव खनाल, पवन सर्राफ, आकाश चन्द, अर्जुन साउदलगायत १५ खेलाडी उक्त सूचीमा छन् ।

महिला क्रिकेटतर्फ इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर ‘ए’ क्याटगोरीमा परेका छन् । उनीहरूले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
महिलातर्फ ‘बी’ मा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेका छन् भने ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा समावेश छन् ।
महिला डेभलप्मेन्ट क्याटगोरीमा १४ खेलाडी राखिएको छ । क्यानले यस वर्गीकरणमार्फत नयाँ प्रतिभा उत्पादनसँगै राष्ट्रिय टोलीको दीर्घकालीन संरचना बलियो बनाउने संकेत दिएको छ ।
