
सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।
मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
