
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। बुधबार नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत् रवि लामिछानेसँगको भेटलाई सुखद भन्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लामिछानेको सहकार्यको इच्छालाई स्वागत र समर्थन गरेको उल्लेख गरेका छन्।
मोदीले ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको दोहोर्याउँदै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्।

भेटमा भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
रवि–मोदी भेटलाई नेपाल–भारत सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
