
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको पुनर्गठित मन्त्रिपरिषदमा समावेश पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। पुनर्गठनअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री सरकारमा समावेश भएका छन्।
नयाँ जिम्मेवारीअनुसार एमालेका तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा नियुक्त भएका छन्।

यस्तै, जसपाका भण्डारीलाल अहिर लाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्यमन्त्री आचार्यले गत जेठ २० गते मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए। तर प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले शपथ ग्रहण कार्यक्रम तत्काल आयोजना हुन नसकेको थियो। प्रदेश प्रमुखको उपस्थितिपछि आज नवनियुक्त मन्त्रीहरूले औपचारिक रूपमा शपथ ग्रहण गर्दै आफ्नो कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढाएका छन्।
पुनर्गठित मन्त्रिपरिषद्सँगै प्रदेश सरकारले विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
