
कपिलवस्तु, साउन ११ – महाकाल युवाशक्ति नेपालले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, क्पतानगन्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न, घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, मृतक ओम प्रकाश मेहतालाई शहीद घोषणा गरी सम्मानजनक राज्य सम्मान प्रदान गर्न तथा परिवारलाई उचित क्षतिपूर्ति, रोजगारी र दीर्घकालीन राहतको व्यवस्था गर्न माग गरेको छ।
यस्तै, सबै घाइतेको निःशुल्क उपचार तथा आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न, घटनास्थलको सुरक्षा व्यवस्थामा देखिएका कमजोरीको छानबिन गरी जिम्मेवार अधिकारीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ।

माग सम्बोधनका लागि संस्थाले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको छ। त्यसपछि जिल्ला सदरमुकाममा विरोध प्रदर्शन, र्याली तथा दीप प्रज्वलन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। माग पूरा नभए थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संस्थाले जनाएको छ।
महाकाल युवाशक्ति नेपालले सम्पूर्ण नागरिकलाई संयम, सामाजिक सद्भाव र कानुनको पालना गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

