धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

0
Quantam abroad studies

शेर भण्डारी , डडेल्धुरा, असोज ३०
धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दसैं जाँत (मेला) सम्पन्न भएको हो ।

यहाँ हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग मनाइने गरिन्छ । डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाका हजारौें भक्तजन दशैं जाँत हेर्न घटाल थान पुगेको घटाल क्षेत्र विकास समाजले जनाएको छ ।

बिहानैदेखि घटाल बाबाको पूजा गर्न हजारौें मानिस घटाल स्थान पुगेका थिए । पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर उनीहरू घर फर्किएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले बताए ।

‘यहाँ धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन् । धामी (झाँक्री)हरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा–पानीसँगै खाने गर्छन्,’ उनले भने ।

घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ ।

यस्तो छ घटालको महिमा !

sahani furniture udyog

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ । दसैंको दिन साँझ पुनः देवघरमा फिर्ता ल्याइन्छ ।

दशैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए ।

उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो ।

हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या वर्षेनी बढन थालेको छ । त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । यस्तै, घटाल थानमा हरेक वर्ष २ वैशाखमा मेला लाग्ने गर्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.