

-लाेकनारायण सुबदी
कोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारण आक्रमणको बिश्वले सामना गर्दै गर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् ।
त्यो बाल बच्चाका लागि अझ बढी खतरनाक हुने पनि उनीहरुले बताइरहेका छन् । त्यसैले त्यसले आक्रमण गर्ने भन्दा अगाडि देखिदै त्यसको प्रतिरोध गर्न अहिले र आजैदेखि सबै किसिमको तयारी गरिनु पर्ने आबाश्यकता दर्शाइरहेका छन् । यो तेश्रो लहरको कोरोनाले पुनः दुःख दिने कुरा संघारमै आइसके पछि मानिसहरुको मन मस्तिष्क अझ सन्त्रस्त बन्न गएको देखिदै छ । कतै सरकारकै बिज्ञ सल्लाहकारहरुले यो कुराको पुष्टी गरिरहेका छन् भने थप स्वतन्त्ररुपमा काम गरिरहेका अनुसन्धानकर्ता हरुले पनि यस कुराको पुष्टी गरेबाट दोश्रो लहर सकिदा नसकिदै तेश्रो लहरले गाँज्ने कुरा निश्चित जस्तै भएको छ ।
त्यसैले यस बारे कुनै किन्तु परन्तुको गुञ्जायश रहेको छैन । अनि यसले आक्रमण गर्ने भयो भनेर कुनै चिन्ता र हैरानी हुनुको पनि कुनै अर्थ रहँदैन । त्यसैले जिम्मेवार सबैले समय रहँदै आवशयकता साबधानी र सतर्कता अपनाउनु नै यसको समाधानको सही बाटो हुने देखिन्छ । यसको सामना गर्नका लागि आवश्यक पूर्बाधार तयार गर्ने पहिलाको गल्तीबाट सिक्ने र तयारीका सबै पक्षलाई केन्द्रबिन्दूमा राखेर जनतको स्वास्थ्यको रक्षा र सुरक्षमा एकलब्य भएर जुट्नुको कुनै बिकल्प छँदैछैन ।

बिगतमा पहिलो लहरको कोभिड महामारी फैलिए पछि जे जसरी त्यसको सामना गर्नु पर्दथ्यो र दोश्रो लहर आउन सक्ने कुरालाई ध्यानमा राखेर त्यसको सामना गर्ने तयारीमा जुट्नु पर्ने थियो त्यसो हुन सकेन । फलत दोश्रो लहरको कोरोनाको फैलावट र घातकता पहिलो लहरकोभन्दा तीब्र रहेको प्रष्ट देखिएको छ । वास्तबमा अहिलेको सन्त्रास त्यसैको परिणाम हो । नेपालकै मात्र कुरा गर्ने हो भने बैशाख २७ गतै एकै दिन १३९ जनाको मृत्यु भएको छ भने भाइरस संक्रमण दर ५० प्रतिशत पुगको छ । यसले गम्भीरतम स्थितिलाई दर्शाउँदछ । पहिलो लहरको कोरोना पछि झण्डै नौ महिनाजतिको समय मिल्दा पनि दाश्रो कोरोना लहर पैदा हुने आशंकासम्म पनि जसरी बिर्सिएको वा बेवास्ता गरेको देखियो यो वास्तबमा कम खतरनाक प्रबृत्ति होइन । यसमा हाम्रो शासन प्रशासनतन्त्रले आबश्यक बस्तुको आपूर्ति र उत्पादन गर्न सकिने बस्तुको उत्पादनको तयारी गर्नमा ध्यान नदिएको र अतिरिक्त तयार नगरेको मात्र होइन, बढ्दो डरलाग्दो खतराप्रति आम जन साधारणलाई मानसिकरुपले तयार गर्नुपर्ने कुरामा पनि ध्यान दिएको देखिएन । त्यसले गर्दा मानिसहरु भएको छ, त्यसैले अब यसले केही बिगार्न सक्तैन ।
अब तेश्रो कोरोना लहरले गाँज्ने स्थिति संघारमै आउन लागेको छ । यसको लागि अब कसैले कुनै बहान बनाउन मिल्दैन कि यो अप्रत्याशित जस्तो थियो र यसको भयावह सन्त्रासका बारेमा कसैलाई कुनै अनुमान थिएन । यद्यपि यो तेश्रो लहर आउने समयको किटानी भइसकेको छैन । के पनि निश्चित भएको छैन भने त्यो लहर आउँदासम्ममा कोरोनाका कतिवटा र कस्ता कस्ता खालका नयाँ ‘भेरिएण्ट’ देखापर्ने हुन् ।तिनका बारेमा बैज्ञानिक समुदायले काम गरिरहेकै देखिन्छ। यद्यपि यो भाइरसको रुपमा जुन ब्याधी झम्टी झम्टी आएको र आउने छ त्यसको आक्रमण गर्ने तरीकामा भने त्यत्तिका धेरै परिबर्तन हुने सम्भवान नरहेको बताइन्छ । यसबाट प्रष्ट हुन्छ कि संक्रमितहरुलाई बनाउने तरीकामा खाश परिबर्तन गरिरहनु पर्ने छैन । दूरी कायम राख्ने , निकट सम्पर्क नगर्ने, मास्क लगाउने, पटक पटक हात धुने र पालो आउदा खोप लगाउने । यी उपायहरु सतर्कता र सावधानीकासाथ पलना गरेर हरेक ब्यक्तिले कोरोना बिरोधी युद्धमा आफ्नो र अरुका लागि पनि उत्तिकै महत्वपूर्ण योगदान दिन सक्तछन्।
तर हाम्रो जस्तो देशमा खोपको आपूर्ति समयमै गर्ने , अन्य आवश्यक औषधीहरुको सहज उपलब्धता कायम राख्ने र आक्रान्ताहरुलाई चाहिने अक्सिजन, अस्पताल शैया, चिकित्सक,स्वास्थ्यकर्मी आदिको उचित प्रबन्ध गर्ने जिम्मेवारी सरकार या राज्यको नै हो । यो जिम्मेवारी पूरा नभएसम्म कोरोनाको एक पछि अर्को फैलिदो लहर र त्यसको भयावह परिणाम र सन्त्रास बाट मुक्त हुन सकिने छैन ।
