
कपिलवस्तु — भारतबाट नेपाल भित्र्याउन लागिएको अवैध औषधिसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली रहेका छन्।
प्रहरीका अनुसार कपिलवस्तुस्थित कृष्णनगर नगरपालिका–२ को लिंकगेटमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो। औषधि व्यवस्था विभागको अनुमति र इजाजतपत्रबिना बोरामा औषधि लुकाएर ल्याउँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
बरामद औषधिको बजार मूल्य ७ लाख ७ हजार २३२ रुपैयाँ बराबर रहेको बताइएको छ। पक्राउ परेका नेपालीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।

प्रहरीले सीमा क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि रोक्न चेकजाँचलाई थप कडा बनाइने बताएको छ।
