
कपिलवस्तु, फागुन १
नेकपा (माओवादी) नेतृत्वमा सुरु भएको सशस्त्र जनयुद्धको ३०औं वार्षिकोत्सव आज कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा विविध कार्यक्रमसहित मनाइएको छ।
जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका स्थानीय नेताहरू, कार्यकर्ताहरू, पूर्व लडाकुहरू तथा शुभेच्छुकहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा जनयुद्धका उपलब्धि, वर्तमान राजनीतिक अवस्था र भविष्यका रणनीतिहरूबारे चर्चा गरिएको थियो।
कपिलवस्तुको बाणगंगा, शिवराज, बुद्धभूमि, मायादेवी , कपिलवस्तु लगायतका पालिकाहरूमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले जनयुद्धले स्थापित गरेका परिवर्तन र अहिलेको राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसका उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सहभागीहरूले जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान परिस्थितिमा जनताको अधिकार र देशको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
जनयुद्ध दिवसकै अवसरमा विभिन्न स्थानमा विचार गोष्ठी, दिप प्रज्वलन, र्याली तथा अन्य सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
