
बुटवल, २०८१ चैत – बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतीको कामले तीव्रता पाएको छ। ५० किलोमिटर लामो यस सडकको स्तरोन्नतीका लागि आवश्यक रुख कटानको काम पूरा भइसकेको छ। बुटवल गोरुसिङ्गे सडक आयोजनाका अनुसार, सडक किनारमा रहेका कुल ७,१११ रुख काटिएको छ।
रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने सडक किनारमा रुख कटानी सकिएपछि छटानी र ढुवानीको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर अशोक पौडेलले जानकारी दिनुभयो। हालसम्म रुपन्देही तर्फ दुई प्रतिशत र कपिलवस्तु तर्फ २.६ प्रतिशत भौतिक प्रगति भएको छ। साथै, विद्युतका पोल सार्ने तथा सडक मापदण्डभित्र पर्ने घर भत्काउने कार्य पनि जारी रहेको छ।
नयाँ पुल तथा अन्डरपास निर्माण हुँदै
सडक स्तरोन्नतीका क्रममा ३० वटा नयाँ पक्की पुल निर्माण गरिनेछ। पहिलो चरणमा यी पुलहरू निर्माण गरिने योजना रहेको छ। यस्तै, १४९ वटा कल्भर्ट तथा वन्यजन्तु आवागमनलाई ध्यानमा राख्दै १९ स्थानमा अन्डरपास निर्माण गरिनेछ।
आयोजनाका अनुसार, यस सडक खण्डमा ६ वटा गाडी गुडाउन मिल्ने अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज पनि निर्माण गरिनेछ।
बजार क्षेत्रमा सर्भिस लेनसहितको सडक विस्तार

सडक निर्माणका क्रममा धुलो र धुवाँबाट स्थानीयवासीले पाउने असुविधालाई ध्यानमा राख्दै, बजार क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेपछि मात्रै बीचको भाग भत्काउने योजना रहेको छ।
बजार तथा बस्ती क्षेत्रमा ६ लेनको सडक बन्नेछ भने सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार गरिनेछ। सहर उन्मुख क्षेत्रमा भने सर्भिस लेनसहित ३७ मिटर चौडा सडक बनाइनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ११ गते बुटवलको जीतगढीबाट भर्चुअल माध्यमद्वारा उक्त सडक खण्डको शिलान्यास गर्नुभएको थियो।
सडक स्तरोन्नतीको कार्यले तीव्रता पाएसँगै स्थानीयवासी तथा यात्रुहरू उत्साहित छन्।
