
कपिलवस्तु
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका ट्राफिक प्रहरीमाथि पैसाको चलखेल भइरहेको आरोप लामो समयदेखि उठ्दै आएको छ। स्थानीय तथा यात्रुहरूको गुनासोअनुसार, ट्राफिक चेकिङ्गको नाममा प्रहरी स्वयंले आर्थिक लाभ लिने गरेको आरोप बारम्बार दोहोरिरहेको छ।
चेकिङ्गका नाममा आर्थिक लेनदेनको आरोप
मिति २०८१ साल फागुन ४ गते बेलुकी ६ बजे, कपिलवस्तु नगरपालिका वडा नं. १ स्थित जमुवार पुलमा ट्राफिक प्रहरीद्वारा चेकिङ्ग भइरहेको थियो। सोही क्रममा शुद्धोधन गाउँपालिकाका एक यात्रु चेकिङ्गमा परे। उनले ट्राफिक प्रहरीलाई आफ्नो मोटरसाइकलको ब्लुबुक तथा लाइसेन्स मोबाईलमा देखाए। तर, प्रहरीहरूले सक्कली कागजातको माग गरेपछि यात्रुले टाढाबाट कागजात ल्याउन कठिन हुने बताए। प्रहरीहरूले उनलाई “केही मिलाउनु” भनेपछि यात्रुले तीन सय रुपैयाँ बुझाएर मात्र आफ्नो गन्तव्यतर्फ जान पाएका थिए।
भारतीय यात्रुहरू लक्षित दुर्व्यवहार?
अन्य चालकहरूले पनि ट्राफिक चेकिङ्गका नाममा अनावश्यक दु:ख पाइरहेको गुनासो गरेका छन्। विशेषगरी भारतीय यात्रुहरूलाई लक्षित गरी अनावश्यक रोकेर दुःख दिने कार्य भइरहेको स्थानियहरू बताउँछन्। यसले गर्दा सीमावर्ती क्षेत्रका यात्रुहरू ट्राफिक प्रहरीप्रति असन्तुष्ट देखिएका छन्।
सामाजिक सञ्जालमा असन्तुष्टि
यस विषयमा यशोधरा गाउँपालिकाका हजरत अलीले आफ्नो फेसबुक पोस्टमार्फत ट्राफिक प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार ट्राफिक प्रहरीले यात्रुहरूको सुरक्षाभन्दा अन्य लाभमा ध्यान दिएको देखिन्छ। सामाजिक सञ्जालमा पनि प्रहरीले अनावश्यक रुपमा पैसा असुली गरिरहेको विषयमा चर्को आलोचना भइरहेको छ।
ट्राफिक प्रहरी कार्यालयको प्रतिक्रिया
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्र खड्काले भने, “हामी कुनै पनि यात्रुलाई जानाजानी दुःख दिँदैनौं। कागजात अनिवार्यरूपमा हेर्ने गर्छौं। कहिलेकाहीँ पैसा लिएको गुनासो आउने गरे पनि हामी त्यसप्रति सजग छौं। कसैले अवैध रूपमा पैसा लिएको प्रमाणित भएमा कानुनी कारबाही गरिनेछ।”
ट्राफिक प्रहरीको भूमिका यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नु हो, तर चेकिङ्गका नाममा अवैध आर्थिक लेनदेन हुनु गम्भीर विषय हो। यसप्रति प्रहरी प्रशासनले ध्यान दिनु आवश्यक छ। स्थानीय तथा यात्रुहरूको गुनासोलाई गम्भीर रूपमा लिएर यदि कुनै प्रहरी कर्मचारी गैरकानुनी कार्यमा संलग्न छन् भने, उनीहरूलाई कारबाही गर्नु जरुरी देखिन्छ।
