
काठमाडौं — हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय देखिएको मौसमविद्हरूले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली रहने सम्भावना छ ।
कोशी प्रदेशका केही स्थानहरूमा र अन्य भू-भागका छिटफुट ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ । त्यसैगरी, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

आज रातिसमेत मौसमको यस्तै प्रवृत्ति रहनेछ । पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली मात्र रहने बताइएको छ ।
विशेषगरी गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागहरूमा रातिको समयमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । उच्च हिमाली भेगमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
