
रुपन्देही, लुम्बिनी — लुम्बिनीको ऐतिहासिक मायादेवी मन्दिर परिसरमा परम्परागत चैत्र पूर्णिमा मेला ५ दिन सम्म चल्ने भएकाे छ । शुक्रबार (चैत २९ गते) बाट आरम्भ भएको यो धार्मिक तथा सांस्कृतिक मेला वैशाख २ गतेसम्म जारी रहनेछ।
हिन्दू र बौद्ध समुदायबीच साझा श्रद्धास्थलको रूपमा रहेको लुम्बिनीमा हरेक वर्षजस्तो यसपालि पनि ठूलो संख्यामा श्रद्धालुहरू भेला भएका छन्। बुद्ध धर्मावलम्बीका लागि विशेष महत्व राख्ने यो मेलाले अन्य धर्म तथा संस्कृतिका अनुयायीहरूलाई समेत आकर्षित गर्दै आएको छ।
बौद्ध भिक्षु विवेकानन्द पाण्डेले यस मेलालाई श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको संगमको रूपमा वर्णन गरेका छन्। उनका अनुसार, यस्तो अवसरहरूले धार्मिक सहिष्णुता र आपसी समझदारीलाई सुदृढ बनाउन मद्दत गर्छ। इसापूर्व ६२३ मा माता मायादेवीले सिद्धार्थ गौतमलाई लुम्बिनीको बगैँचामा जन्म दिएको विश्वास गरिन्छ। यही ऐतिहासिक सन्दर्भमा आधारित रहेर प्रत्येक वर्ष चैत्र पूर्णिमाको दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन्।

मेलामा कथा वाचन, धार्मिक तथा सांस्कृतिक नृत्य, विशेष पूजा, ध्यान, दान–धर्मका कार्यक्रमहरू, कडाही चढाउने अनुष्ठान जस्ता विविध गतिविधि भइरहेका छन्। साथै, श्रद्धालुहरूको सुविधा लागि स्वास्थ्य शिविर र पिउने पानीको उचित व्यवस्था पनि मिलाइएको छ।
बौद्ध भिक्षु धम्म सिद्धीले मेलाको वातावरणलाई “धार्मिक, शान्त र प्रेरणादायक” भन्दै प्रशंसा गरेका छन्। स्थानीय बासिन्दा तथा टाढा–टाढाबाट आएका तीर्थयात्रीहरूको सहभागिताले मेलाको रौनक अझै बढाएको छ।
लुम्बिनीको यस किसिमको मेला धार्मिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक पहिचान सुदृढ गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
