
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको प्रभाव देशको उच्चतम सत्ता तहसम्म पुगेको गम्भीर आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक समस्याको मूल कारण बिचौलिया संस्कृति रहेको धारणा राखे।
“प्राइभेट सेक्टर र बिचौलिया दुई फरक कुरा हुन्,” थापाले भने, “हाम्रो अर्थतन्त्रमा अहिले देखिएको अव्यवस्थाको कारण नै बिचौलियाहरू हुन्। यिनीहरूको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको देख्दा म चकित भएको छु।”
उनको अनुसार, पहिले राष्ट्र बैंकको गभर्नर कसले बनाउँछ भन्ने चर्चा नेताहरूमा सीमित हुन्थ्यो। तर अहिले भने “बिचौलियाहरूको क्यान्डिडेट” भनेर खुलेर बहस हुन थाल्नु चिन्ताजनक अवस्था हो।

महामन्त्री थापाले सरकार र सत्तामा रहेका नेताहरूलाई घेरिएका “आसेपासे र बिचौलिया” बाट छुटकारा पाउन आह्वान पनि गरे। उनले भने, “आसेपासेलाई पोस्ने शैली पुँजीवादी होइन, त्यो त कृपावाद हो। राज्य बलियो बनाउन चाहिने पहिलो कुरा भनेको नागरिक बलियो हुनु हो।”
थापाले बिचौलियाको प्रभाव हटाएर पारदर्शिता र जवाफदेहीतामा आधारित शासन प्रणालीमा फर्कनु पर्नेमा जोड दिए। देशको भविष्य युवाको हातमा रहेको भन्दै उनले परिवर्तनको नेतृत्व नागरिक आफैंले गर्नुपर्ने तर्क गरे।
