
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राति एक भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्। २७ वर्षीय विशाक विजयन नाम गरेका ती व्यक्ति थाई एयरको उडानमार्फत बैंकक हुँदै काठमाडौँ आएका थिए।
विमानस्थलको टनेल गेटमा सुरक्षाकर्मीहरूले नियमित चेकजाँचको क्रममा विजयनको लगेजबाट ६ किलो ९ सय ७० ग्राम गाँजा बरामद गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, गाँजा लुकाइछिपाई नेपाल भित्र्याउने प्रयास गरिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्तिको संलग्नता र सम्भावित नेटवर्कबारे विस्तृत छानबिन भइरहेको जनाइएको छ।
