माओवादीका मजदुर संगठनद्वारा ५० रोपनीमा अदुवा खेती सुरू

0
Quantam abroad studies


तनहुँको व्यास नगरपालिका–६, श्याम्घामा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (ANTUF) ले ५० रोपनी जमिनमा अदुवाखेती सुरु गरेको छ। १३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसको अवसर पारेर श्रमिक परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले महासङ्घले अदुवा रोपाइँ कार्यक्रम सञ्चालन गरेको हो।

मंगलबार सम्पन्न रोपाइँ कार्यक्रममा महासङ्घका २० जना पदाधिकारीको सक्रिय सहभागिता रहेको थियो। आधुनिक प्रविधिबाट अदुवा खेती थालिएको जानकारी दिंदै महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलले यसलाई श्रमिकहरूको आर्थिक सशक्तीकरणतर्फको कदमका रूपमा व्याख्या गरे।

“पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ,” पौडेलले बताए, “यो वर्ष पाँच सय धार्नी बीउ रोप्ने हाम्रो लक्ष्य छ।”

sahani furniture udyog

महासङ्घ तनहुँका अध्यक्ष वीरबहादुर थापाले अदुवाखेतीलाई प्राथमिकता दिनुको कारण प्रस्ट्याउँदै भने, “बाँदरले क्षति नगर्ने, कम लगानी र परिश्रममा पनि राम्रो उत्पादन हुने भएकाले अदुवा रोजिएको हो।”

महासङ्घका अनुसार उत्पादन भएको अदुवा बिक्रीबाट प्राप्त आम्दानी महासङ्घमा आबद्ध श्रमिकका परिवारको जीविकोपार्जनमा प्रयोग गरिनेछ।

स्थानीयस्तरमा ट्रेड युनियनद्वारा सञ्चालनमा ल्याइएको यस्तो सामूहिक कृषि कार्यक्रमले दीर्घकालीन रूपमा श्रमिकहरूलाई आत्मनिर्भर बनाउने र संस्थागत सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.