
साउदी अरेबियाले नेपाललाई २५ टन खजुर उपहारस्वरूप प्रदान गरेको छ। सोमबार नेपालका लागि साउदी अरेबियाको राजदूतावास परिसरमा आयोजित विशेष कार्यक्रममा उक्त खजुर हस्तान्तरण गरियो।
किंग सलमान मानवीय सहायता तथा राहत केन्द्रको नेपालमा पहिलो कार्यक्रमको औपचारिक उद्घाटनसँगै यो सहयोग प्रदान गरिएको हो। कार्यक्रममा साउदी राजदूत साद नासेर अबु हैमदले नेपाल सरकारको तर्फबाट उपस्थित गृह मन्त्रालयका उपसचिव छविलाल पौडेललाई खजुर हस्तान्तरण गरे।
उपसचिव पौडेलका अनुसार प्राप्त खजुरलाई विभिन्न सरकारी निकाय, विद्यालय, विश्वविद्यालय, अनाथालय लगायत १२–१५ वटा श्रेणीमा वर्गीकृत गरी वितरण गरिनेछ।
राजदूत सादले नेपालमा गरिएको यो सहयोग साउदी अरेबियाको वैश्विक मानवीय प्रतिबद्धताको एक हिस्सा भएको बताए। साथै, उनले दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा विश्वभरका पीडितलाई राहत पुर्याउने लक्ष्यमा यो सहयोग एक उदाहरण भएको उल्लेख गरे।

उनले परोपकारी र मानवीय कार्यमा साउदी अरेबियाको निरन्तर अग्रसरताले अन्तर्राष्ट्रिय मित्रता र सहयोगको सन्देश दिन्छ भन्ने विश्वास व्यक्त गरे।
सो समारोहमा गृह मन्त्रालयका अधिकारीहरू, विभिन्न परोपकारी संघसंस्थाका प्रतिनिधिहरू र मस्जिदका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल र साउदी अरेबियाबीच सन् १९९७ को मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीचको सम्बन्ध सहयोग र समझदारीमा आधारित रहँदै आएको छ।
