
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेका लागि राजावादी समूहले काठमाडौंमा घोषणा गरेको आन्दोलनलाई नेकपा एमालेले सफल हुन नदिने कडा चेतावनी दिएका छन्।
आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरूको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै, “यी राजावादी होइनन्, खाओवादी हुन्,” भन्दै ती समूहहरू देशमा अस्थिरता ल्याउने प्रयासमा लागेको आरोप लगाए।
“हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरूले नारायणहिटीमा राजा वीरेन्द्रको हत्या हुँदा आफूहरू किन बाँचिरहे?” भनी प्रधानमन्त्री ओलीले प्रश्न गरे। उनले राजावादीहरूको उद्देश्य सैद्धान्तिक नभई साना स्वार्थका लागि मात्र रहेको बताए।
ओलीले पछिल्लो समय सरकार र जनताले संयमता देखाएकाले केही तत्वहरू अनावश्यक उन्मादी भएको आरोप लगाए। “एमाले मैदानमा उत्रिएपछि उनीहरू कताकता हराउँछन्,” उनले चेतावनी दिए।

उनले वडाध्यक्षहरूलाई जेठ १५ गतेको तयारीका लागि निर्देशन पनि दिएका छन्। “भोलिदेखि नै तयारी थाल्नुस्, त्यो दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ,” ओलीले स्पष्ट रूपमा भने।
उनले आन्दोलनमा कुनै औपचारिकताको आवश्यकता नरहेको बताउँदै सबै कार्यकर्तालाई एउटै पंक्तिमा उभिन आह्वान गरे। “को अगाडि, को पछाडि भन्ने कुरा छाडौं, सबै एक भएर अघि बढौं,” उनको भनाइ थियो।
