
कपिलवस्तुमा आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म “१६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२” भव्य रूपमा आयोजना हुने भएको छ। बाणगंगा वेल्फेयर सोसाइटीको मुख्य आयोजना र कपिलवस्तु उद्योग वाणिज्य संघको सहकार्यमा हुने यो महोत्सव जिल्लाको ऐतिहासिक, सांस्कृतिक र आर्थिक परिचयलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने लक्ष्यसहित तय गरिएको हो।
वि.सं. २०६६ सालदेखि निरन्तर हुँदै आएको महोत्सव २०६८ सालदेखि दुवै संस्थाले आलोपालो सहकार्यमा सञ्चालन गर्दै आएका छन्। सोसाइटीका अध्यक्ष राजकुमार खाँणका अनुसार यस वर्षको महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई कपिलवस्तुको पहिचान र समृद्धिको साझा अभियान हो। उनले अन्य संस्थाले मिति जुधाएर ‘प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी’को तयारी गरिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले अनावश्यक द्वन्द र भ्रम सिर्जना गर्ने सम्भावना रहेको बताए।
खाँणले कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनीसँगै व्यापार मेला, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन र विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवको आकर्षण हुने जानकारी दिए। उनले यसलाई राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको र सफलता सुनिश्चित गर्न सबै पक्षलाई एकताबद्ध भई सहकार्य गर्न आग्रह गरे।

