
रुपन्देहीको गौरवको प्रतीक भनेर प्रचार गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले निराशाको प्रतीक बन्दै गएको छ। निर्माण सम्पन्न भएर २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट उद्घाटन भएको यो विमानस्थलले सुरुवाती समयमा ठूलो आशा जगाएको थियो। स्थानीय नेता, जनप्रतिनिधि र व्यवसायीले यसको सञ्चालनले पर्यटन, होटल व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा ‘कायापलट’ ल्याउने दाबी गरेका थिए।
तर उद्घाटनको उत्साह जति उच्च थियो, त्यसको परिणाम त्यति नै विपरीत देखिँदैछ। सन् २०२५ अप्रिलयता यहाँ कुनै अन्तर्राष्ट्रिय उडान नभएको पाँच महिना भइसकेको छ। यसअघि पनि भएका उडानहरू अनियमित र मौसमी प्रकृतिका मात्र देखिएका थिए।
अन्तर्राष्ट्रिय उडानको निरन्तरता नभएपछि विमानस्थलको सम्भावना ‘कागजमै सीमित’ हुने चिन्ता बढेको छ। स्थानीयका अनुसार, चुनावी भाषणमा सिँचाइ र मल आपूर्ति जस्तै, अब विमानस्थलको सञ्चालन पनि केवल मतदाता तानेर भोट लिने नारामा मात्र सिमित हुने सम्भावना छ।

विमानस्थल सञ्चालनको आशामा रुपन्देही र वरपरका क्षेत्रमा ठूलो लगानी भएका होटल र रेस्टुरेन्टहरू अहिले संकटमा छन्। कतिपय व्यवसायी त बिक्रीको प्रक्रियामा नै उत्रिएका छन्। सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख सञ्चालन अधिकृत लक्ष्मण थापाले भने, “अब वाचा गर्ने समय सकियो, कार्यान्वयन गर्ने बेला हो। अन्तर्राष्ट्रिय उडान नहुँदा महिनौँदेखि रोजगारी, आम्दानी र सम्भावनाका अवसर गुमिरहेका छन्।”
थापाका अनुसार, विमानस्थल नचल्दा लुम्बिनी आउने विदेशी पर्यटकलाई काठमाडौं वा भारतको मार्ग हुँदै घुमाउनुपर्ने बाध्यता छ, जसले उनीहरूको समय र खर्च दुवै बढाइदिन्छ। “यसले प्रत्यक्ष मात्र होइन, अप्रत्यक्ष रूपमा पनि पर्यटन उद्योगमा क्षति पुर्याइरहेको छ,” उनले थपे।
स्थानीय नेतृत्व, पूर्वप्रधानमन्त्रीदेखि वर्तमान मन्त्रीसम्मका व्यक्तिहरू उद्घाटन र प्रचारको भाषणमा अग्रसर भए पनि, आजसम्म नियमित अन्तर्राष्ट्रिय उडानको स्थायी समाधान निस्किन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘उत्साहको सपना’ बाट ‘निराशाको यथार्थ’ मा रूपान्तरण हुँदै गएको देखिन्छ।
