
कपिलवस्तु , मंसिर ३
बाणगङ्गा नगरपालिका–२, नन्दनगरस्थित श्री कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरको आयोजनामा आगामी मंसिर १० गतेदेखि १६ गतेसम्म ‘श्री कूर्मपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल ३२ औँ ज्ञान-महायज्ञ- २०८३’ सञ्चालन हुने भएको छ।
आज आश्रम परिसरमा आयोजित पत्रकार सम्मेलन (प्रेस मिट) मा महायज्ञ आयोजक प्रमुख विष्णु प्रसाद पौडेलले उक्त महायज्ञको तयारी तथा कार्यक्रमबारे विस्तृत जानकारी दिनुभएको हो। श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुलम्को सर्वाङ्गीण विकास गर्ने पवित्र उद्देश्यका साथ महायज्ञको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। ब्रह्मलीन श्री १००८ स्वामी कृष्णानन्द परमहंसज्यूको संकल्पमा निरन्तरता पाउँदै आएको यस महायज्ञमा परमपूज्य श्रद्धेय श्री लोकानन्द स्वामीज्यू प्रमुख संरक्षकका रूपमा रहनुहुनेछ। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महायज्ञमा श्रीधाम वृन्दावन धामबाट पाल्नुहुने सुमधुर कथावाचिका सुश्री आरती कृष्णप्रियाज्यूको मुखारविन्दबाट सङ्गीतमय श्रीमद्भागवत कथा–प्रवचन वाचन हुनेछ। यसका साथै प्रमुख संरक्षक श्री लोकानन्द स्वामीज्यूको मुखारविन्दबाट वचनामृत–प्रवचन तथा देश–विदेशका सन्त एवं विद्वान्हरूबाट समेत धार्मिक प्रवचन हुने कार्यक्रम तय गरिएको छ।

महायज्ञको कार्यतालिकाअनुसार पहिलो दिन मंसिर १० गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म शोभा कलशयात्रा निकालिनेछ भने दिउँसो १:०० बजे महायज्ञको समुद्घाटन गरिनेछ। महायज्ञ अवधिभर दैनिक बिहान ८:०० देखि ११:०० बजेसम्म पूजापाठ तथा हवन, बिहान ११:०० देखि साँझ ५:०० बजेसम्म सङ्गीतमय कथा प्रवचन, साँझ ५:०० बजेदेखि प्रसाद वितरण र साँझ ७:०० देखि ९:०० बजेसम्म सन्ध्याकालीन भजनकीर्तन सञ्चालन हुनेछ।
संस्कृत शिक्षा र गुरुकुलम्को उन्नयनका लागि आयोजना गर्न लागिएको यस वैदिक अनुष्ठानमा सहभागी भई पुण्य लाभ लिन आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजन एवं आम नगरवासीमा भगवदीय निमन्त्रणा गरेको छ।
