
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी असोज ३ गतेलाई कालो दिवसका रूपमा मनाउने भएको छ। बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी तथा भातृसंगठनका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा असोज ३ गते कालो दिवससँगै शोक दिवसका रूपमा समेत मनाइने उल्लेख गरिएको छ। त्यसदिन पार्टी कार्यकर्ता तथा समर्थकहरूले कालो पट्टी बाँधी विरोध जनाउनेछन्।

सरकार भने असोज ३ लाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ। २०७२ सालमा जारी भएको संविधानलाई ऐतिहासिक उपलब्धि मान्दै सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गर्दै आएको हो।
तर लोसपासहितका मधेसवादी दलहरू सुरु देखिनै यो संविधानप्रति असन्तुष्ट रहँदै आएका छन्। संविधानले मधेसको पहिचान र अधिकार सुनिश्चित नगरेको दाबी गर्दै उनीहरूले लामो समय आन्दोलन गरेका थिए। संविधान संशोधनको माग अझै पूरा नभएकाले लोसपाले यस वर्ष पनि असोज ३ लाई विरोध स्वरूप कालो दिवसका रूपमा मनाउने तयारी गरेको हो।
