
वीरगञ्जमा पछिल्ला दिनदेखि जारी विरोध प्रदर्शन रोक्ने सहमति भएपछि सोमबारदेखि लागू गरिएको कर्फ्यू आज अपराह्न ३ः३० बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र जनजीवन सहज बनाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बाह्य घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन नगर्ने प्रतिबद्धता आएपछि कर्फ्यू हटाइएको हो। बैठकले भविष्यमा कुनै पनि आन्दोलन अघि प्रजिअको अनुमति अनिवार्य गर्ने र ज्ञापनपत्र बुझाएपछि मात्र कार्यक्रम गर्ने व्यवस्था गरेको छ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न हिन्दू, मुस्लिम समुदाय, राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजको सहभागितामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ। सञ्चार माध्यमलाई पनि समाचार सम्प्रेषणमा संयमता अपनाउन अनुरोध गरिएको छ।

प्रशासनले सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ। सबै पक्षले आत्मसंयम अपनाउँदै थप विरोध कार्यक्रम नगर्ने सहमति जनाएका छन्।
