
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वी रूकुमका नेताहरूले त्यहाँबाट उम्मेदवार बन्ने विषयमा छलफल गरेका छन्।
पूर्वी रूकुम अध्यक्ष कुमारी बराल गौतमसहितका नेताहरूले आइतबार प्रचण्डसँग भेटेर स्थानीय राजनीतिक अवस्थाबारे धारणा राखेका हुन्। दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले नेताहरूसँग छलफल गरेको नेता सरल सहयात्री पौडेलले जानकारी दिए।
प्रचण्ड हाल पूर्वी रूकुमसहित देशका १० निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। तीमध्ये कतिपय क्षेत्रमा उनको नाम एकल रूपमा र कतिपयमा संयुक्त रूपमा केन्द्रमा पुगेको छ। अन्तिम निर्णय भने अझै भइनसकेको नेताहरूले बताएका छन्।

स्थानीय नेताहरूले जनयुद्धकालीन आधार क्षेत्र भएकाले पूर्वी रूकुम प्रचण्डका लागि तुलनात्मक रूपमा सुरक्षित हुने आकलन गरेका छन्। प्रचण्डले सम्भवतः यसै महिनाको अन्त्यसम्म उम्मेदवारीबारे निर्णय गर्ने जनाइएको छ।
यसअघि पनि प्रचण्डले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै आएका छन्, जसका कारण उनी चुनावैपिच्छे क्षेत्र फेर्ने नेताका रूपमा चिनिँदै आएका छन्।
