
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा खुला संकेत दिएका छन्। उनले भने— “केपी ओलीको नेतृत्वमा रहुन्जेल एमालेसँग एकता सम्भव छैन, तर ओलीपछि ढोका खुला छ।”
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै दाहालले माओवादी केन्द्र अब “चुनावमुखी” चरणमा प्रवेश गरेको बताए। उनका अनुसार, अब पार्टीको प्रमुख एजेन्डा आगामी निर्वाचन नै हो।
“अबको माओवादीको लाइन भनेको चुनाव हो,” उनले ठोकुवा गरे।
🔸 समाजवादी मोर्चाबाटै एकता प्रक्रिया अघि बढ्ने
दाहालले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जानकारी दिए। उनले भने, “देशलाई स्थायित्व दिन प्रगतिशील शक्तिहरूबीच एकता अपरिहार्य छ।”
🔸 जेन्जी युवासँग संवाद

भेटघाटको क्रममा दाहालले युवा पुस्तासँग विशेष छलफल गरेका थिए। उनले भने, “अहिले मेरो जेन्जी युवाहरूसँग पनि संवाद भइरहेको छ। उनीहरूले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेका छन्।”
उनका अनुसार, माओवादीको आदर्श र संघर्षको अनुभव अब नयाँ पुस्ताले पुनः आत्मसात् गर्न थालेको छ।
🔸 कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले पार्टीलाई चुनावी मोडमा लैजान निर्देशन दिए। “अब हरेक कार्यकर्ता जनतामाझ पुग्न तयार हुनुपर्छ,” उनले भने।
दाहालको ताजा अभिव्यक्तिले माओवादी र एमालेबीचको सम्बन्ध फेरि पनि राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्— “दाहालको ‘ओलीपछि ढोका खुला’ भन्ने वाक्यांशले वामएकताको नयाँ सम्भावना पुनः तातिएको सङ्केत दिन्छ।”
