
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा दलहरुले आज एकताको सहमति गर्दा एकीकृत पार्टीको नाम भने सार्वजनिक गर्न सकेनन् । सहमतिको विज्ञप्तिमा पार्टीको नाममा खाली ठाउँ छाडिएको छ ।
पार्टीमा कसको नेतृत्व रहने भन्ने पनि टुंगिएको छैन । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतम नयाँ पार्टीमा प्रचण्ड र माधव नेपालको समान हैसियत रहने बताउँछन् ।

एकीकृत पार्टीमा संयोजक र सहसंयोजक को बन्ने हो ?
त्यसमा कुराकानी भएको छैन । आज सातवटा पार्टीले घोषणा गर्यौं कि हामी एकतावद्ध भएर जान्छौं । अहिले कसैको पनि जिम्मेवारी तोकिएको छैन । कसैको पद स्थापित भएको छैन ।

नेतृत्व कसले गर्ने भन्ने नै सहमति भएको छैन ?
प्रचण्ड र माधव नै प्रमुख बन्नुहुन्छ होला । आठ जनाको सिग्नेचर गरेर स्टेटमेन्ट गइसक्या छ । अरु कुराहरु पछि आउँछन् । आठवटा पार्टी ज्यादै खुशी भएर हस्ताक्षर गरेका छन् । हामी अब नेपालमा हाम्रो पार्टीलाई उत्पादनमा आधारित बनाउछौं भन्ने छ । पदको कुरा पछि हुन्छ । आठवटै पार्टीको प्रमुख नेताहरुको केन्द्रीय स्तरको मूख्य जिम्मेवारी नै हुन्छ ।
प्रचण्ड र माधव नेपालबीच वरियतामा को अगाडि हुने हो ?
त्यस्तो हुँदैन । एक नम्बरमा भयो भने दुवैजनाको एक नम्बरमा, दुई नम्बरमा भयो भने दुवैजनाको दुई नम्बरमा । त्यस्तो हुन्छ । पहिले हामीले एकता गर्दा जसरी गरेका थियौं त्यही हुने हो । एउटा अगाडि एउटा पछाडि हुँदैन ।
पार्टीको नाममा सहमति जुटेको छैन ?
पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुन्छ । अरु फुर्को केही पनि जोडिँदैन ।
