गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको दशौं साधारण सभा ! संरक्षण, समन्वय र वृक्षारोपण अभियानमा जोड

0
Quantam abroad studies

शहबाज खान,  कपिलवस्तु 

विजयनगर गाउँपालिका–७ खडैचास्थित गाउँपालिकाको सभाहलमा गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको दशौं साधारण सभा बिहीबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा आगामी योजनासँगै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले सम्बोधन गर्दै “बन र मान्छे एक–अर्काका पूरक हुन्” भन्दै वृक्षारोपणलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले साझेदारी बनका अध्यक्ष रहँदा धेरै अतिक्रमित क्षेत्र हटाएको उल्लेख गर्दै संरक्षण, सचेतना र सामूहिक प्रयासले मात्र बनको अस्तित्व जोगाउन सकिने बताए।

त्यसैगरी विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले संरक्षण र विकासका लागि स्थानीय तह र बन उपभोक्ता समूहबीच समन्वयात्मक भूमिका अपरिहार्य रहेको बताए। उनले जलवायु परिवर्तनका कारण दिनानुदिन मानवीय जीवनमा प्रतिकूल असर परिरहेको उल्लेख गर्दै सबैले बन संरक्षण अभियानमा सहभागी हुनुपर्ने धारणा राखे। अध्यक्ष थापाले सामाजिक विकासका गतिविधि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढाउने प्रतिबद्धता समेत जनाए।

sahani furniture udyog

डिभिजनल बन कार्यालयका वरिष्ठ बन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेश कानुन अनुसार राष्ट्रिय बन व्यवस्थापनको कार्य अघि बढाइरहेको जानकारी दिए। उनले २ सय ८८ हेक्टर क्षेत्र अतिक्रमणमा रहेको उल्लेख गर्दै जनस्तरमा सचेतना र सहभागिता बढे मात्र वृक्षारोपण र संरक्षणको लक्ष्य हासिल गर्न सकिने बताए।

गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले आर्थिक वर्ष २०८१/८२ मा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण, ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण सम्पन्न गरेको जानकारी दिए। उनले पुनरुत्पादन कटान प्लटका साथै अतिक्रमण व्यवस्थापनमा पनि समूहले उल्लेखनीय प्रगति गरेको बताए।

उपाध्यक्ष सीमा अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि संरक्षण, पुनरुत्पादन र बन व्यवस्थापन सुदृढीकरणमा प्राथमिकता दिने समूहको योजना प्रस्तुत गरिन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बन उपभोक्ता, समुदायका अग्रज तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.