राष्ट्रिय स्वतन्त्र पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान

0
Quantam abroad studies

काठमाडौं, कार्तिक २९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन प्रस्थान गरेको छ।
 
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार बिहान चीन प्रस्थान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
 
महामन्त्री आचार्यले जानकारी दिए अनुसार यस भ्रमणका क्रममा दुई पार्टीबीच बहुआयामिक विषयमा छलफल हुनेछ ।  आपसी अनुभव आदानप्रदान, सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वका बारेमा छलफल हुनेछ । भ्रमणका क्रममा सीपीसीका महासचिव तथा राष्ट्रपति सी जिनपिङसँग भेट नभए पनि दोस्रो तहका नेताहरूसँग प्रविधि, कनेक्टिभिटी र क्रस बोर्डरका विषयमा विशेष केन्द्रित भई छलफल हुनेछ।
 
सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान खालका चासो र सुझाव प्राप्त भएको महामन्त्री आचार्यले बताएका छन्। उनले भने, ‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको छ । भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्।’
नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने दुवै पक्षले लिएका छन्।
 
भ्रमणको तालिका
 
आज: प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तस्थित चेङ्दु पुग्नेछ।
कार्तिक ३०: सिचुवानस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को भ्रमण तथा ‘पार्टी स्कुल अफ सीपीसी’ का नेताहरूसँग भेटघाट हुनेछ, जहाँ महामन्त्री आचार्यले आफ्ना धारणा राख्नेछन्।
मंसिर १: वेनचुआन क्षेत्रमा २००८ को ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको अवस्था अवलोकन।
मंसिर २: सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापन विषयक अन्तरक्रिया।
मंसिर ६: झेजियाङ विश्वविद्यालयमा ‘थिङ्क ट्याङ्क’ विकासबारे अवलोकन।
मंसिर ७: चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा सहभागिता र त्यसपछि बेइजिङ प्रस्थान। बेइजिङमा सीपीसीका उच्च तहका नेताहरूसँग भेटघाट तथा विज्ञहरूसँग छलफल।
मंसिर १०: भ्रमण सम्पन्न गरी टोली स्वदेश फर्किनेछ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.