
नयाँदिल्लीको ऐतिहासिक लालकिल्ला नजिक सोमबार भएको घातक कार विस्फोटको अनुसन्धान क्रममा भारतीय सुरक्षा निकायले काश्मीरमा व्यापक छापा मारी पाँच जनालाई हिरासतमा लिएको छ। उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए।
अधिकारिहरूका अनुसार घटना सम्भावित आतङ्कवादी गतिविधिसँग सम्बन्धित हुन सक्ने आशङ्का गरिएको छ। अनुसन्धानकर्तालाई यस मामिलामा विशेष कानूनी अधिकार दिइएको छ।
१७औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको प्रमुख ऐतिहासिक स्थल हो, जहाँ प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्छन्। यदि यो विस्फोट जानाजानी गरिएको आक्रमण भएको पुष्टि भयो भने, सन् २०११ पछि दिल्लीमा भएको सबैभन्दा घातक आक्रमण हुने बताइन्छ।
काश्मीरको पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको छापामा पाँच जनालाई सोधपुछका लागि समातिएको प्रहरीले जनाएको छ। विस्फोटअघि केही घण्टा मात्र अघि फरीदाबादमा सञ्चालन भइरहेको सन्दिग्ध आतङ्कवादी सेल विघटन गरिएको थियो। त्यहाँ दुई चिकित्सकसहित सात जनालाई पक्राउ गरी हतियार र बम बनाउने सामग्री बरामद गरिएको थियो।

भारतका अधिकारीहरूले फरीदाबाद र दिल्ली विस्फोटबीच प्रत्यक्ष सम्बन्ध हुन सक्ने आशङ्का गरेका छन्, तर औपचारिक पुष्टि भएको छैन। अनुसन्धान काश्मीरमा अक्टोबर १९ मा भारतविरोधी पोस्टर भेटिएपछि सुरु भएको थियो।
हालसम्म दुई काश्मीरी चिकित्सकसहित चार जनालाई भारतका विभिन्न सहरबाट हिरासतमा लिइएको छ। विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरिएको छ, तर प्रहरीले पुष्टि गरेको छैन।
दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीका अनुसार अनुसन्धान टोलीले “आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा कारको यान्त्रिक खराबी” सबै कोणबाट अनुसन्धान जारी राखेको छ।
यसबीच, पुलवामाका एक सन्दिग्ध चिकित्सककी बहिनीले आफ्नो भाइसँग गत शुक्रबारदेखि सम्पर्क हुन नसकेको बताएकी छन्। प्रहरीका अनुसार अनुसन्धान संवेदनशील भएकाले थप विवरण हालका लागि सार्वजनिक गरिएको छैन।
