
डडेलधुरा — प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः चुनावी मैदानमा उत्रिने सम्भावना प्रबल बन्दै गएको छ । जिल्लास्तरमा पार्टी नेतृत्व र कार्यकर्ताबीच देउवाको उम्मेदवारीलाई लिएर लगभग सहमति बनिसकेको देखिन्छ ।
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएका देउवा आठौँ पटक प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा रहनुभएको कांग्रेस डडेलधुराका नेताहरू बताउँछन् । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले देउवाको नाम एकल रूपमा केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको नाम प्रतिनिधि सभाका लागि सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार देउवाको नाम सुदूरपश्चिम प्रदेश कमिटीमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि नै देउवाले डडेलधुराका कांग्रेस नेतासँग यो आफ्नो अन्तिम प्रतिनिधि सभा निर्वाचन हुन सक्ने संकेत दिइसक्नुभएको थियो । उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा डडेलधुराबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

यस्तै, समानुपातिक तर्फका लागि कांग्रेस डडेलधुराले नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, वसन्ती भण्डारी र ईश्वरी चन्दको नाम सिफारिस गरेको छ । नरभान कामी २०७० को निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य रहनुभएको थियो ।
राष्ट्रिय सभा सदस्यका लागि भने भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गरिएको छ । साउद हाल कांग्रेस डडेलधुराका सभापति हुनुहुन्छ भने २०७४ को स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिकाका नगरप्रमुख निर्वाचित भइसक्नुभएको थियो । यस्तै, रघुवर भट्ट कांग्रेस डडेलधुराका पूर्वसभापति हुनुहुन्छ । उहाँ तत्कालीन जिल्ला विकास समितिको सभापति समेत रहनुभएको थियो । २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि क्षेत्र ‘क’ बाट उम्मेदवार हुँदा उहाँ पराजित हुनुभएको थियो ।
